राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेका हुन् ।
उनीहरूलाई पदमुक्त गर्न सोमबारको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । साथै तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
देवकोटा कैलालीका हुन् भने घर्तीमगर रोल्पा र जोशी बझाङका हुन्।
राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णय र सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखहरू नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले) ले गत असार १७ को सहमतिअनुसार केपी शर्मा ओलीको नेतृत्वमा संघीय सरकार गठन गरेपछि तीन प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेका हुन् ।