वामदेवको प्रस्ताव: सम्माननीय र माननीय शब्द हटाएर सबैलाई ‘श्री’ प्रयोग गरौं

राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले कुनै पदमा भएको व्यक्तिको नामको अगाडि सम्माननीय र माननीय शब्द हटाउन प्रस्ताव गरेका छन् ।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका गौतमले राजकीय पदको अगाडि लेखिने सो शब्द हटाएर सबैलाई एकमुष्टमा श्री लेख्न माग गरेका हुन् । गौतमले भने, ‘हामीले पाएको पदावधि हो माननीय । तर यसमा मेरो विरोध छ । अमेरिकामा जानुस् त । दुईटा शब्द छ, मिस्टर र मिसेस् । मिस्टर प्रेसिडेन्ट, आइ एम हेयर । त्यस्तै मिसेस् प्रेसिडेन्ट । यहाँ राजा थिए, श्री ५ भनिन्थ्यो । अहिले हाम्रो यहाँ सम्माननीय, माननीय र यो भन्दापनि तल हाम्रै राष्ट्रिय सभाले के के बनाएको छ । नामको अघि एउटा मात्रै राखौँ श्री’ ।

नेपालमा हाल राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई सम्माननीय शब्दले सम्बोधन गर्ने गरिन्छ भने सांसद, मन्त्री, उपसभामुख, उपाध्यक्ष, सर्वोच्चका न्यायाधीश, प्रदेश सभाका सांसद, मन्त्री, मुख्यमन्त्रीलगायतलाई माननीय शब्दले सम्बोधन गरिन्छ ।