सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी पदमुक्त हुने अघिल्लो दिन नाउपाका मन्त्री चौधरीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएका हुन् ।

स्वकीय सचिव भक्त चलाउनेमार्फत चौधरीले राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले शुक्रबार ४ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसको अघिल्लो दिन चौधरीले राजीनामा दिएका हुन् ।

सरकारमा सहभागी दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिँदा उनी गत असार २० गतेदेखि अल्मतमा छन् । संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत लिने भोलि अन्तिम दिन हो ।

प्रदेश सभामा भोलि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । तर, उनले विश्वासको मत नपाउने निश्चित छ ।