मापदण्ड पुगेका कलेजलाई तत्काल सम्बन्धन दिन सीटीईभीटीलाई समितिको निर्देशन

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पुगेका प्राविधिक कलेजलाई तत्काल सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई निर्देशन दिएको छ ।

चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम मापदण्ड पुगेर चिकित्सा शिक्षा अध्यापन गराउन चाहने शैक्षिक संस्थाको हकमा समितिले सम्बन्धन दिन भनेको हो ।

बिहीबार शिक्षा मन्त्रीको उपस्थितमा बसेको बैठकले यही शैक्षिक सत्रदेखि भर्ना लिने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

‘हामीले विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित गर्नुहुँदैन’, उनले भने, ‘कानुन बमोजिम प्रक्रिया पूरा गरेका संस्थाहरूले तुरुन्तै कक्षा सञ्चालन गर्न पाउनुपर्छ ।’

लामो समयदेखि नर्सिङ कलेज सञ्चालन गर्न कानुनी र व्यावहारिक जटिलताले सास्ती खेपेको भन्दै समितिमा शैक्षिक संस्थाहरूबाट निवेदन परेको थियो ।

बैठकमा नर्सिङ कलेज सञ्चालन गर्नबाट वञ्चित भएका संस्थाहरू, सिटिइभिटी, चिकित्सा शिक्षा आयोग र समितिका सांसदबीच समस्यामाथि छलफल भएको थियो ।

निवेदक शिक्षण संस्थाले कानुनी मापदण्ड पूरा गर्दा पनि नर्सिङ कक्षा सञ्चालन गर्न परिषद्बाट स्वीकृत नपाएको गुनासो पोखेका थिए। परिषद्ले भने आयोगले स्वीकृत दिन रोक लगाएको आरोप लगाएको थियो । आयोगले परिषद्‌मा कानुन बमोजिमा कार्य नभएको बाउँदै आएको छ ।