आफूविरुद्ध मूल नेतृत्वले नै एकपछि अर्को प्रचारबाजी गरिरहेको भन्दै जनार्दन शर्माको आपत्ति

Image

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूविरुद्ध नेतृत्वले एकपछि अर्को प्रचारबाजी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । स्थायी समिति बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्र मुद्दा विशेषमा कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको दाबी गरेका हुन् ।

उनले पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा भनेर करिब दुई पृष्ठ उल्लेख गरेका छन् । जसमा मूल नेतृत्वबाट नै ‘जनार्दनले पार्टी फुटाउँदै भनिएको’ उनको भनाइ छ ।

‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरू गरिएको प्रचारवाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो। उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो,’ उनले स्थायी कमिटीमा राखेको प्रस्तावमा भनिएको छ, ‘देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।’

उनले पार्टी एजेन्डाविहीन बन्दै शून्यतातर्फ अग्रसरभएकाले कार्यकर्ताहरू चरम निराशा र असन्तुष्टिमा बाँचेको बताए । शर्माले संगठनमा माथिदेखि तलसम्म परिवारवाद हाबी भएको बताए । ‘माओवादी आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका महिला, जनजाति, दलित, सिमान्तकृत, मधेसी, उत्पिडित वर्ग र समुदायहरु विस्तारै आन्दोलनबाट अलग हुँदै गए ।’ उनले लिखित दस्तावेजमार्फत भनेका छन्, ‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन । छरपष्ट हुँदै गएको जनमतबारे चिन्ता जाहेर गर्ने संस्थागत परिपाटी निर्माण हुन सकेन ।’