कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ

कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो ।

सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । सहकारी ऐनको दफा १०४ मा विभागले समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गर्न सक्ने र मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था छ ।

सहकारी संस्थाले सदस्यको हित विपरीत हुने गरी कुनै कार्य गरेको पाइए संस्थाले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको वा भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको तथा भुक्तानी गर्न नसक्ने अवस्था भए सहकारी विभागको रजिस्ट्रारले समस्याग्रस्त घोषणाका लागि सिफारिस गर्न सक्ने व्यवस्था छ ।