बारामा कारभित्र मृत भेटिएका व्यक्तिको हत्यामा संलग्न अनुसन्धान विभागका अधिकृतसहित तीन जना पक्राउ

Image

बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतसहित तीन जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ ।

गत पुस ६ गते बाराको सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बा मृत भेटिएका थिए । लगत्तै अनुसन्धानका लागि खटिएको टोलीले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको संलग्नता फेला परेसँगै उनी पक्राउ परेका हुन् । उक्त कार पनि अधिकृत तिवारीको भएको खुलेको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी महेन्द्र खड्काले बताए ।

तिवारी महोत्तरी जलेश्वर नगरपालिका – ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत थिए । बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ घर भई हाल सोही स्थानमा जय माँ इन्जियरिङ वर्कसप चलाउँदै आएका २७ वर्षीय पुरुषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहानलाई पनि प्रहरीले सोही घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेको छ ।

उनीहरुको साथबाट पुरुषोत्तम कुमार दासको वर्कसपबाट उनले लगाउने गरेको जिन्स पाइन्टको खल्तीबाट रुम्बाले घाटीमा लगाएको सुनको सिक्रि १ थान बरामद गरेको छ । साथै दासको कालो रंगको क्याट लेखिएको झोला भित्रबाट रुम्बाको पर्स बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट ६ थान मोवाइल दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल थान १ बरामद गरेको एसपी खड्काले बताए ।

प्रहरीका अनुसार, रुम्बालाई गोली हानेर हत्या गरिएको खुलेको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

बारामा कारभित्र मृत भेटिए विमानस्थलका कर्मचारी (भिडियो)