नेपाल प्रहरीमा जागिर खुलेको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो ।
सूचनाअनुसार प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको हो ।
विशेष सूचनामा भनिएको छ- सम्मानित सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँसमेत विपक्षी रहेको रिट नम्बर ०७८-डब्ल्यूओ-०६६२ समेतका उत्प्रेषणका निवेदनहरूमा मिति २०७९/१०/२४ मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाएपछि कायम हुन आउने कूल पदहरूमध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबबाट आ.व. २०७९/८० मा समावेश नगरिएबाट वास्तविक रूपमा गुम्न गएका पदहरू समेत समेटी हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानूनमा व्यवस्था भएबमोजिम गर्ने गरी हाललाई प्रचलित कानुनबमोजिम पदपूर्ति गर्ने गरी यो सूचना प्रकाशन गरिएको छ ।















