गृहमन्त्रीका दुई प्रस्ताव– विवाहको उमेर घटाऔँ कि रोमियो जुलियट मोडलमा जाऔँ (भिडियो)

Image

सरकारले विवाहको उमेर घटाउने बारेमा छलफल थालेको छ । प्रतिनिधिसभा अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाहको उमेर घटाउन सकिने बताए ।

मन्त्री लेखकले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । “मलाई चाहिँ विवाहको उमेर घटाएर जाँदा पनि हुन्छ जस्तो लाग्छ । कि उमेर घटाएर जाऔँ, कि रोमियो जुलियट मोडलमा जाऔँ । छलफल गरौँ ।” उनले मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलकै क्रममा रहेको उल्लेख गर्दै भने, “यो लेख्ने त्यो लेख्ने भन्ने छलफल भएको छैन ।”

रोमियो जुलिएट कानुनमा १६ देखि १८ वर्षको बीचमा युवायुवतीको शारिरीक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न नमिल्ने व्याख्या रहेको पनि मन्त्री लेखकले बताए । संसारका धेरै देशहरुमा ‘रोमियो जुलिएट ल’ को प्रयोग भइरहेको पनि मन्त्री लेखकले बताए ।

नेपालको मौजुदा कानुन मुलुकी संहितामा विवाहको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने छ । समितिमा भने विवाहको उमेर १८ वर्षमा झार्नुपर्नेबारे छलफल भएको हो । समितिमा रहेका बहुमत सांसदहरुको राय विवाहको उमेर घटाउनुपर्नेमा छ ।