प्राधिकरणको घाटाबारे कांग्रेस सांसद केसीले मागे आफ्नै मन्त्रीको जवाफ (भिडियो)

सरकारको गरे आलोचना

Image

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले ऊर्जामन्त्रीसँग जवाफ माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भाग लिँदै सांसद केसीले नेपाल विद्युत् प्राधिकरण घाटामा रहेको श्वेतपत्रबाट आफू भ्रममा परेको भन्दै यसको जवाफ माग गरेका हुन् । उनले ऊर्जामन्त्रीले सदनलाई जानकारी दिनुपर्ने नभए संसदले छानविन गर्नुपर्ने बताए ।

उनले नेपाल विद्युत् प्राधिकरणले ५ अर्ब घाटामा भएको श्वेतपत्र जारी गरेर जनतालाई भ्रममा पारेको आरोप लगाए ।

उनले भने, ‘सर्वसाधारण जनताको कुरा छाडिदिऊँ म अलिकति क ख ग घ पढेकै एमपीमध्ये पर्छु म पनि भ्रममा छु । आम रूपमा नेपाली जनता भ्रममा छन्, यो के हो ? एक महिनाअगाडि नाफै नाफामा हुने अभिव्यक्ति सार्वजनिक रूपमा आउने १ महिनापछि ५ अर्ब घाटाको कुरा आएको छ । यो कुराको वास्तविकता मन्त्रीजीले सदनमा बताउनुपर्‍यो अथवा यही संसदले वास्तविकता छानबिन गर्नुपर्ने आवश्यकता देखेको छु ।’

यस्तै, केसीले दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतामा देखिएको असन्तुष्टि चिर्न असफल भएको बताएका छन् ।

उनले मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले गर्दा सिकिस्त बिरामी रहेको बताए । उनले दुई तिहाइको सरकारले दश महिनाभित्र पूँजीगत खर्च एक तिहाइ पनि गर्न नसकेको भन्दै आलोचना गरे ।