विराटनगरमा आज पहिलोपटक कार्गो रेल आउँदै

विराटनगर भन्सारको कस्टम यार्डसम्म आज कार्गो रेल आउँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीमा आज संयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुग्नेछ ।

रेलको लिक परीक्षण सफल भएको चार वर्षभन्दा धेरै समय भैसकेको छ । तर, अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन ।

कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कच्चा पदार्थको आयात र उत्पादित वस्तुको निर्यात कार्गो रेलबाट हुने विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले बताए । यो करिडोरमा सानाठूला गरेर पाँच सयभन्दा बढी उद्योग छन् । उद्घाटनमा फलाम उद्योगको कच्चा पदार्थ कार्गो रेलबाट आयात हुने तयारी उद्योगीले गरेका छन् । ढकालका अनुसार यसअघि पनि फलाम उद्योगका कच्चा पदार्थ रेलबाट आयात हुन्थ्यो । जोगवनी आउने रेलमा आयात गरिने फलाम उद्योगको कच्चा पदार्थ बथनाहमा अनलोड गरेर ट्रकमार्फत कस्टम यार्ड ल्याउने गरिएको ढकालले प्रस्ट्याए ।

बथनाह ( कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ । बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ ।

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।