लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूबीच भनाभन (भिडियो)

Image

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरूबीच भनाभन भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि बुधबार भएको छलफलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच केहीबेर भनाभन भएको हो ।

माओवादी सांसद अमनलाल मोदीले सत्तापक्ष एवं नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको सम्बन्धमा टिप्पणी गरेका थिए । उनले एमालेकै सभापति रहेको समितिमा एमाले सांसदहरूले फरक मत राख्नु अस्वाभाविक भएको बताएका थिए ।

उनले बोल्दै गर्दा एमाले सांसद गोकुल बास्कोटाले आपत्ति जनाएका थिए । समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै उनले एमालेको नाम किन लिइएको भन्दै आक्रोश पोखे ।

करिब पाँच मिनेट एमाले-माओवादी सांसदबीच वादविवाद भयो । एमालेबाट गोकुलसँगै योगेश भट्टराईले आपत्ति जनाएपछि एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि आक्रोशित बनेका थिए ।

सभापति ऋषिकेश पोखरेलले विवादलाई साम्य गर्ने प्रयास गरेका थिए । सांसद मोदीले त्यही भएर लेखा समिति प्रमुख प्रतिपक्षीकै हुनुपर्ने बताएका थिए ।