‘माग्ने राजा’को पोस्टर सार्वजनिक

Image

केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्वजनिक भएको छ । आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक भएको हो ।

दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा केदार मात्रै छन् । अर्कोमा केदारसँगै वर्षा शिवाकोटी र विल्सनविक्रम राई फिचर्ड छन् ।

चलचित्र ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदै छ । यो चलचित्रमा केदार, वर्षा र विल्सनसँगै आर्यन सिग्देल, मिस पवि र शिशिर बाङदेलको मुख्य भूमिका छ ।

गरिब व्यक्तिको धनी बन्ने महत्वाकाङ्क्षाको कथावस्तुमा बनेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने पटकथा सामीप्य तिमल्सिनाले लेखेका हुन् । निर्माता मुनाल घिमिरे हुन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।