नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले माग गरेअनुसार नै छानबिन समिति बनेको बताएका छन् ।
माधव नेपालसहित नेकपा एसका नेताहरूसँग भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपालाई अन्याय नहोस् भनेर आफू अझै लागिरहेको बताए ।
समितिमा रास्वपाको असहमतिबारे उनले भने, ‘यसमा अहिले पनि उहाँहरूलाई धेरै भन्न चाहन्न । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु । रास्वपाका साथीहरूले एकदिन बुझ्नुहुन्छ ।’
सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको समिति भने रास्वपा र राप्रपाले अस्वीकार गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले वैरागी नेतृत्वको छानबिन समिति कुनै पनि हालतमा स्वीकार नहुने बताए ।
यस्तै प्रचण्डले सिंहदरबारमा दुई दलबीच सरकारले हिजो गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय समिति, समाजवादी मोर्चालाई अगाडि बढाउनेबारे छलफल भएको पनि जानकारी दिए ।
प्रचण्डले भने, ‘अहिले सदनमा भइरहेको परिस्थितिको समीक्षा, समाजवादी मोर्चालाई अब कसरी अगाडि बढाउने र दुई दलबिचको सम्बन्धको बारेमा सामान्य छलफल भएको छ । गम्भीर विषयमा होइन ।’














