दक्षिण भारतीय सिनेमाका अनुभवी अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ।
आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित आफ्नै निवासमा उनले अन्तिम सास फेरे। उनको निधनले दक्षिण भारतीय फिल्म उद्योगमा गहिरो शोक छाएको छ र यसलाई ठूलो क्षति मानिएको छ। उनी विगत केही दिनदेखि बिरामी थिए र उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।
उनले ७५० भन्दा बढी फिल्ममा काम गरेका छन्। तेलेगु, तामिल, कन्नड र हिन्दी फिल्ममा समेत उनले काम गरेका छन्।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले कोटा श्रीनिवास रावको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै नायडूले रावको निधनले फिल्म उद्योगका लागि अपूरणीय क्षति भएको बताएका छन्।
नायडूले रावको बहुमुखी अभिनय क्षमता र विभिन्न भूमिकामार्फत दर्शकको मनमा बनाएको स्थानको प्रशंसा गर्दै उनको कलात्मक योगदान अविस्मरणीय रहने बताए। मुख्यमन्त्री नायडूले रावको राजनीतिक जीवनको पनि स्मरण गर्दै सन् १९९९ मा विजयवाडाबाट विधायकका रूपमा उनको योगदानको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
‘उनले खलनायक, हास्य र चरित्र भूमिकामार्फत दर्शकको मनमा बलियो स्थान बनाए। उनको बिदाइ तेलुगु फिल्म उद्योगको लागि ठूलो क्षति हो’, नायडूले लेखेका छन्।













