सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, नेप्से २५३८ मा झर्‍यो

Image

भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको शेयर बजारमा लगातार दोश्रो सर्किट ब्रेक लागेको छ।

बिहान कारोबार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेर बजार २० मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि फेरि कारोबार खुलेको केही मिनेटमै नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द गरिएको हो।

दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंकले घटेर २५३८ मा झरेको छ। बजारमा सबैभन्दा धेरै अन्य समूह (जहाँ दुई पुनर्बीमा कम्पनी सामेल छन्) ८.९ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूह पनि ५ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

विशेषज्ञहरूका अनुसार राजनीतिक अस्थिरता, अराजक प्रदर्शन र लगानीकर्तामा देखिएको त्रासका कारण बजारमा ठूलो दबाब परेको छ।