भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपाल ‘सरप्राइज प्याकेज’का रूपमा चर्चामा आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विश्वकपमा नेपालको खेलका लागि टिकटको माग सबैभन्दा उच्चमध्येमा परेको छ।
भारतीय मिडियाका रिपोर्टअनुसार आयोजक भारतपछि सबैभन्दा धेरै टिकट माग भएको टिम नै नेपाल हो। नेपालले विश्वकपका सबै खेल भारतको प्रतिष्ठित वानखेडे क्रिकेट रंगशालामा खेल्ने तालिका रहेको छ।
टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल समूह ‘सी’मा परेको छ। यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्।
यसअघि समूह ‘सी’मा टेस्ट राष्ट्र बंगलादेश रहने तालिका थियो। तर भारतसँगको राजनीतिक खिचातानीबीच बंगलादेशले विश्वकप नखेल्ने निर्णय गरेपछि स्कटल्यान्डले स्थान पाएको हो।
नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डविरुद्ध समूह चरणका खेल खेल्ने तालिका छ।
विश्वकपअघि नेपालले आईसीसीको आधिकारिक ‘वार्म–अप’ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) र क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको आक्रामक खेलशैली र पछिल्ला प्रदर्शनका कारण विश्वकपमा नेपालप्रति दर्शकको उत्साह उल्लेखनीय रूपमा बढेको विश्लेषण गरिएको छ।















