युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

Image

 फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको विस्तृत विवरण भने सार्वजनिक नभएको बीबीसीले जनाएको छ । 

युक्रेनको सुरक्षा सेवा (एसबीयू)का अनुसार, बाल्टिक सागरको रुसी तटमा रहेको उस्त–लुगा तेल निर्यात केन्द्रविरुद्ध सञ्चालन गरिएको बृहत् ड्रोन आक्रमणका क्रममा ‘नारो–फोमिन्स्क’ नामक रुसी युद्धपोतलाई पनि निशाना बनाइएको थियो । 

नागरिक समुद्री यातायातका लागि खुला बाल्टिक सागर क्षेत्रमा युक्रेनले रुसी युद्धपोतलाई निशाना बनाएको यो पहिलो घटना हो । यसले युक्रेनले आफ्नो सैन्य कारबाहीको दायरा थप विस्तार गर्न सक्ने संकेत गरेको विश्लेषण गरिएको छ ।

युक्रेनको निकट युरोपेली सहयोगीमध्ये एक फिनल्यान्डले यस घटनालाई रुसले सुरु गरेको पूर्णस्तरीय युद्धको प्रत्यक्ष परिणामका रूपमा चित्रण गरेको छ । फिनिस सेनाले घटनाबारे सीमित विवरण सार्वजनिक गरे पनि आक्रमण फिनल्यान्डको तटबाट केही दूरीमा रहेको साँघुरो जलक्षेत्रमा भएको बताइएको छ ।

फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्टोनेनले बाल्टिक सागरको अवस्था स्थिर र सुरक्षित रहेको तथा समुद्री यातायातमा कुनै खतरा नरहेको बताएकी छन् । 

यद्यपि, रक्षा अधिकारीहरूले उक्त खाडी तेल ट्यांकर र अन्य नागरिक जहाजले प्रयोग गर्ने साँघुरो जलमार्ग हुनुका साथै समुद्रमुनि सञ्चारका डाटा केबलहरू पनि रहेकाले यस क्षेत्रमा थप जोखिम निम्तिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।