सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले घट्यो

Image

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा व्यापक गिरावट आएको छ। लगातार नयाँ–नयाँ कीर्तिमान बनाउँदै आएको सुनको मूल्य आज अहिलेसम्मकै ठूलो दरमा घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले घट्दै तीन लाख १८ हजार ८ सय रुपैयाँमा झरेको छ।

यसअघि हिजो मात्रै सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

हिजो भएको वृद्धि बराबरकै गिरावट आज देखिएको महासंघले जनाएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र लगानीकर्ताको व्यवहारले सुनको मूल्यमा तीव्र परिवर्तन देखिएको छ।