नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न दिएको निवेदन अस्वीकृत गरेको छ।
शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतले अधिकारीलाई थुनामा पठाउने आदेशलाई नै सदर गरेको हो। अधिकारीलाई भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मंसिर २१ गते थुनामा पठाउने आदेश जारी गरिएको थियो।
सर्वोच्चमा निवेदन दर्ता भएपछि सुनुवाइका क्रममा इजलासले “कानुन बमोजिम गर्नुहोस्” भन्दै विशेष अदालतको थुनामा राख्ने निर्णयको निरन्तरता दिने निर्णय गरेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकारीसहित ६ जना व्यक्ति र एक कम्पनीविरूद्ध मंसिर १७ गते मुद्दा दायर गरेको थियो। मुद्दामा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो कायम गरिएको छ।














