सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान देशभर एकसाथ सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार फागुन १५ गतेसम्म सञ्चालन हुने यस अभियानमा कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ।
शाखाका अनुसार अभियानकै क्रममा गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका किशोरीलाई पनि खोप दिइनेछ। हिमाली तथा हिउँ पर्ने जिल्लामा भने मौसमको कारण चैत महिनामा खोप अभियान सञ्चालन गरिने जनाइएको छ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको रोकथामका लागि एचपीभी खोप अत्यन्त आवश्यक रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। कक्षा ६ मा अध्ययनरत किशोरीलाई विद्यालयमै र अन्य लक्षित किशोरीलाई नजिकका खोप केन्द्रमार्फत खोप प्रदान गरिनेछ।
खोप शाखा प्रमुख डा. अभियान गौतमले एचपीभी खोप शतप्रतिशत प्रभावकारी रहेको उल्लेख गर्दै लक्षित सबै किशोरीलाई खोप लगाउन आग्रह गरे। उनका अनुसार नेपालमा हरेक दिन औसतमा ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ, जसमा चार जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ। तर समयमै एचपीभी खोप लगाएमा यो क्यान्सर पूर्ण रूपमा रोक्न सकिने उनले बताए।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा देशभर कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपीभी खोप लगाइसकेको छ। यस वर्षको २० दिने अभियानमा करिब तीन लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको शाखाले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरका कारण महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा पर्ने गरेको छ।














