वीरगञ्जको अवैध गोदाममा छापा मार्न गएको क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।
वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए। घटनामा सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा समेत क्षति पुगेको थियो।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सशस्त्र प्रहरीमाथि आक्रमणमा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको हो।
उनले भने, “घटनास्थल र आसपासका सिसिटिभी क्यामेरा फुटेजको आधारमा अनुसन्धान भइरहेको छ। घटनामा संलग्नहरूको नाम आवश्यक अनुसन्धानपछि मात्र सार्वजनिक गरिनेछ।”
प्रहरीका अनुसार भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।
सो गोदामबाट सशस्त्र प्रहरीले करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














