उम्मेदवारलाई आयोगको चेतावनी: तत्काल बैंक खाता खोल्नुहोस्

Image

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न ताकेता गरेको छ।

शुक्रबार (फागुन ८) आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचार–प्रसारसम्बन्धी सम्पूर्ण खर्च अनिवार्य रूपमा सोही खाताबाट गर्नुपर्ने व्यवस्था भएकाले बाँकी रहेका उम्मेदवारलाई तत्काल खाता खोल्न सचेत गराएको हो।

आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले सार्वजनिक बिदाका कारण खाता खोल्ने प्रक्रियामा केही असहजता हुनसक्ने देखिएको उल्लेख गर्दै अब ढिलाइ नगर्न आग्रह गरिएको बताइन्। उनले उम्मेदवारलाई खाता खोल्ने प्रक्रियामा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई पनि आयोगले निर्देशन दिइसकेको जानकारी दिइन्।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा चुनावी खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने र सबै खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने संकेतसमेत दिएको छ।