भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्रा का लागि भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु गरिएको छ।
जात्राका लागि पाँचतले मन्दिर परिसरको टौमढी क्षेत्रमा भैरव र भद्रकाली का रथ निर्माणका लागि आवश्यक तयारी सुरु गरिएको हो। रथ निर्माणमा प्रयोग हुने चक्कालगायतका धेरै काठ पुराना भइसकेकाले नयाँ काठ ल्याएर रथ निर्माण गर्न लागिएको स्थानीयले बताएका छन्।
परम्पराअनुसार नयाँ वर्ष आउनुभन्दा चार दिनअघि भैरवको रथ तानेर जात्रा सुरु गरिन्छ। मुख्य कार्यक्रमअन्तर्गत चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ भने वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाइन्छ। त्यसपछि साँझ लिङ्गो ढालेर जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ।
जात्राका लागि आवश्यक काठ तथा अन्य सामग्रीको व्यवस्थापन भने गुठी संस्थान ले गर्दै आएको छ। बिस्केट जात्रा भक्तपुरको सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रूपमा मनाइने गरिन्छ, जसमा स्थानीय बासिन्दा तथा देश–विदेशका पर्यटकहरूको उल्लेख्य सहभागिता रहने गर्दछ।














