अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वसचिवसहित २१ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरण का पूर्वमहानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीलाई प्रतिवादी बनाउँदै दोस्रो मुद्दा दायर गरेको हो।
उनीहरूमाथि सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुर्याउँदै भ्रष्टाचार गरेको अभियोग लगाइएको छ। अख्तियारको अनुसन्धानअनुसार विमानस्थल निर्माणका क्रममा परामर्शदाता नियुक्तिका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगअन्तर्गत ठेक्का सम्झौतामै २८ लाख अमेरिकी डलर (करबाहेक) छुट्याइएको थियो।
तर उक्त रकम प्रयोग नगरी प्राधिकरणको छुट्टै बजेट शीर्षकबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँको लागत अनुमान स्वीकृत गराइएको पाइएको छ। यसरी एउटै कामका लागि दोहोरो बजेट व्यवस्थापन गर्दै सार्वजनिक संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको अख्तियारको दाबी छ।
यो प्रकरणमा दोस्रो मुद्दा दायर भएसँगै पोखरा विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार विवाद थप गहिरिएको छ।














