इरानले जारी युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव अस्वीकार गरेको छ। अघिल्लो दिनसम्म अमेरिकासँग कुनै पनि च्यानलमार्फत वार्ता नभएको र कुनै प्रस्ताव पनि नआएको बताइरहेको इरानले बुधबार प्रस्ताव भने पाएको जनाएको छ।
अमेरिकाद्वारा प्रस्तावित १५ बुँदे प्रस्ताव आफूले प्राप्त गरे पनि त्यसको कुनै अर्थ नरहेको उसको प्रतिक्रिया छ। विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले इरानी स्रोतलाई उधृत गर्दै तेहरानले अमेरिकाको प्रस्ताव प्राप्त गरेको जनाएको छ। तर यो प्रस्ताव अत्यान्तै ‘अधिकतमवादी र अव्यावहारिक’ भएको इरानको प्रतिक्रिया छ।
स्रोतका अनुसार केही सञ्चारमाध्यममा देखाइएजस्तो यो प्रस्तावको वास्तविक सार प्रतिबिम्बित भएको छैन। ‘कागजमै पनि यो राम्रो देखिँदैन्,’ इरानी स्रोतलाई उधृत गर्दै अल जजिराले लेखेको छ, ‘प्रस्ताव भ्रामक र प्रस्तुतिमा दिशाभ्रम पैदा गर्ने खालक छन्।’ इरानको सरकारी प्रसारक प्रेस टिभिले ‘उच्च राजनीतिक–सुरक्षा अधिकारी’ लाई उद्धृत गर्दै हालको युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले दिएको प्रस्ताव इरानले अस्वीकार गरेको छ।
पाकिस्तानमार्फत पठाइएको अमेरिकाको प्रस्तावमा हर्मुज जलडमरू (स्ट्रेट अफ हर्मुज)लाई अन्तर्राष्ट्रिय खुला मार्ग घोषित गरिनुपर्ने, इरानले आफ्नो पारमाणिक प्रशोधन कार्य स्थागित गरेर आणविक हतियार बनाउने लक्ष्य त्याग्नुपर्ने, व्यालेस्टिक मिसाइल कारखाना बन्द गर्नुपर्नेलगायतका शर्तहरू राखेर प्रस्ताव पठाएको सार्वजनिक भएको छ। प्रेस टिभीले इरानी अधिकारीको नाम, पद वा हैसियत नखुलाई उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘इरानले युद्ध तब अन्त्य गर्नेछ जब उसले आवश्यक ठानेको समय आउँछ र उसका आफ्नै सर्तहरू पूरा हुन्छन्।’
बिबिसिका अनुसार इरानी अधिकारीहरूले बारम्बार आफूहरू केवल युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य चाहेको बताएका छन्।युद्ध अन्त्यका लागि इरानले यसअघि राख्दै आएका पाँच वटा शर्त पुन दोहो¥याएको छ।
इरानले शत्रुपक्षबाट हुने ‘आक्रमण र लक्षित हत्या’ को पूर्णत बन्द हुनुपर्ने, इरानमाथि पुनः युद्ध थोपर्न नदिने ठोस संयन्त्रको स्थापना हुनुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्तिको सुनिश्चित र स्पष्ट भुक्तानी हुनुपर्ने, खाडी क्षेत्रभर रहेको अमेरिकाका सुरक्षा बेसहरू बन्द गरिनुपर्ने, आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने इरानको अधिकारको अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित हुनुपर्ने माग राख्दै आएको छ।
स्रोतका अनुसार फेब्रुअरी २८ पछि अमेरिकासँग कुनै अप्रत्यक्ष वार्ता भएको छैन, तर विभिन्न मध्यस्थकर्तामार्फत सन्देशहरू भने आदानप्रदान भइरहेका छन्।















