नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबारदेखि सुनुवाइ सुरु भएको थियो ।
आज शुक्रबार रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरे । जवाफ बहसपछि विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अन्तिममा बहस गरे । बहस सकिएकोले आजै आदेश आउने भएको छ।
गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको थियो । त्यसपछि आयोगको सो निर्णयविरुद्ध देउवासहित उनको कार्यसमितिका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए ।















