बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ। गएराति भएको वर्षापछि रोशी नदीमा आएको बाढीले सडकको डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध भएको हो।
बाढीले काभ्रेको कटुन्जेदेखि मङ्गलटार, घुमाउने लगायतका ठाउँमा डाइभर्सनहरु बगाएको कारण गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सडक मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने भएकाले सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा पनि प्रहरीले अनुरोध गरेको छ।
सडकको अवस्थाको सम्बन्धमा जानकारी लिन १०० र १०३ मा सम्पर्क गर्न प्रहरीले सम्बन्धित सबैमा अनुरोध गरेको छ। सवारी अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।
सानो वर्षा हुँदा नै बीपी राजमार्ग अवरुद्ध हुने समस्याले विगत लामो समयदेखि यात्रुले सास्ती पाउँदै आएका छन्। दुई साताअघि वर्षा हुँदा पनि बीपी राजमार्ग पटकपटक अवरुद्ध भएको थियो।
















