पाकिस्तानमा अर्को चरणको इरान-अमेरिका वार्ता

Image

अमेरिकी उपराष्ट्रपति जेडी भेन्स इरानसँग सम्भावित वार्ताका लागि पाकिस्तानतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ।

रिपोर्टअनुसार भेन्स सोमबार पाकिस्तानका लागि उडेका हुन्। तर यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क पोस्टसँगको कुराकानीमा भेन्स पाकिस्तान नजाने बताएका थिए, जसले भ्रम थपिएको छ।

भेन्स यसअघि ११–१२ अप्रिलमा पनि पाकिस्तान पुगेका थिए, जहाँ उनले इरानसँगको वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। तर करिब २१ घण्टा चलेको उक्त वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको बताइएको छ।

त्यस समयमा इरानको परमाणु कार्यक्रम र होर्मुज स्ट्रेट नियन्त्रणका विषयमा दुवै पक्षबीच गहिरो मतभेद रहेको थियो।

यसबीच इरानले भने पछिल्लो वार्तामा आफू सहभागी भएको कुनै पुष्टि नगरेको बताइएको छ। इरानका सरकारी सञ्चारमाध्यमले अमेरिकी नाकाबन्दी जारी रहेसम्म वार्तामा सहभागी नहुने अडान दोहोर्याएको जनाइएको छ।

पाकिस्तान र इस्लामाबादमार्फत भइरहेको कूटनीतिक प्रयासले मध्यपूर्वमा बढ्दो तनावबीच वार्ता पुनः सुरु हुने वा नहुनेबारे अनिश्चितता कायम रहेको देखिएको छ।