अमेरिकासँग नयाँ वार्ताको कुनै योजना छैन् : इरान

Image

इरानले अमेरिकासँग नयाँ वार्ताको कुनै योजना नरहेको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिका आफ्ना विगतका अनुभवबाट पाठ नसिकिरहेको आरोप लगाउँदै यस्तो अवस्थाले सकारात्मक परिणाम नदिने बताएका छन्।

प्रवक्ता बघाईका अनुसार अमेरिका सुरुदेखि नै युद्धविराम उल्लंघन गर्दै आएको छ र यसबारे पाकिस्तानका मध्यस्थकर्तालाई जानकारी गराइएको थियो। उनले अमेरिकाले इरानमाथि नौसैनिक नाकाबन्दी लगाएर युद्धविराम सम्झौता तोडेको आरोप समेत लगाए।

उनले विगतका वार्ताका क्रममा अमेरिकाले आक्रमण गरेको, इरानी नागरिकको ज्यान गएको र पूर्वाधारमा क्षति पुर्‍याएको स्मरण गर्दै यस्तो व्यवहार दोहोरिन नहुने बताए। “हामी आफ्ना राष्ट्रिय हितको रक्षा गर्न निरन्तर तयार छौं,” उनले भने।

इरानले १० बुँदे प्रस्ताव पेश गरेको र त्यसबारे इस्लामाबादमा छलफल भएको पनि प्रवक्ताले जानकारी दिए। उनका अनुसार अमेरिकी–इजरायली आक्रमणअघि हर्मुज सुरक्षित अवस्थामा रहेको थियो।

यसैबीच, अमेरिकाले लेबनानको युद्धविरामलाई सम्झौताको हिस्सा नमान्ने बताएकोप्रति पनि इरानले आपत्ति जनाएको छ। इरानले पाकिस्तानका मध्यस्थकर्तामार्फत आफ्नो धारणा स्पष्ट पारेको जनाएको छ।

प्रवक्ताले अमेरिकाले समुद्री नाकाबन्दी लागू गर्दै इरानी जहाजमाथि आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुन र युद्धविराम दुवैको उल्लंघन भएको दाबी गरे।

उनका अनुसार अमेरिकाले पटक–पटक वार्ता भंग गर्दै इरानमाथि आक्रमण गरेको, नागरिकको हत्या गरेको र पूर्वाधारमा क्षति पुर्‍याएको छ।

“अमेरिकाले इरानलाई दोषारोपण गर्ने खेल खेलिरहेको छ,” उनले भने, “उनीहरूबाट सत्य बोल्ने अपेक्षा गर्न सकिँदैन, सधैं हामीलाई दोष लगाइन्छ।”