राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ। बैठकका लागि नौ वटा एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा पार्टीका हालसम्मका गतिविधिबारे ब्रिफिङ र केन्द्रीय सदस्यहरूको रिपोर्टिङ प्रस्तुत गरिनेछ। यसका लागि २० जना सदस्यलाई जनही दुई मिनेटका दरले समय छुट्याइएको छ।
बैठकमा महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधन, स्थानीय तहका उम्मेदवार क्लब गठन तथा आवेदन आह्वान सम्बन्धी विषयमा पनि छलफल हुनेछ। साथै प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने विषय, सचिवालयका निर्णय अनुमोदनलगायतका मुद्दा पनि एजेन्डामा समावेश छन्।
रास्वपाले विभिन्न शीर्षकमा तीन प्रस्तावमाथि पनि छलफल गर्ने जनाएको छ। त्यस्तै विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचार, विषयगत विभागका योजना तयारी, नीति मन्थनसम्बन्धी निर्देशन र संसदीय दलको विधान संशोधनबारे समेत बैठकमा विचारविमर्श हुने बताइएको छ।














