सुदन किराँतीले  प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरे

Image

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किराँतीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब पाँच महिनाको यात्रा औपचारिक रूपमा टुंग्याएको जानकारी दिएका हुन्।

किराँतीले पार्टीमा रहँदा आफूलाई मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू तथा कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै उक्त अवधिलाई ‘अमूल्य सम्पत्ति’ का रूपमा आत्मसात गरेको उल्लेख गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, “संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु।”

पार्टीबाट अलग भए पनि राजनीतिबाट भने आफू टाढा नहुने स्पष्ट पार्दै किराँतीले जनताको भरोसा र सहिदहरूको अधूरो सपना पूरा गर्ने अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। “मेरो आगामी बाटो सहज नहुन सक्छ, तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा दृढतापूर्वक अघि बढिरहनेछु,” उनले उल्लेख गरेका छन्।

यसअघि नै उनले पार्टीमा राजीनामा बुझाइसकेका भए पनि औपचारिक रूपमा सार्वजनिक भने बुधबार मात्रै गरेका हुन्।