नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक चुनौतीहरूलाई सामना गर्न पार्टी एकता अपरिहार्य भएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका लागि उनले पठाएको सन्देशमा ओलीले पार्टीले विभिन्न आन्दोलनमार्फत महत्वपूर्ण उपलब्धि हासिल गरे पनि पटक–पटक कठिनाइ र पीडा भोग्दै आएको उल्लेख गरेका छन्।
अस्वस्थताका कारण घरमै आराम गरिरहेका ओलीको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कार्यक्रममा पढेर सुनाएका थिए।
सन्देशमा ओलीले एमालेले निरंकुशताको अन्त्यदेखि गणतन्त्र स्थापनासम्म नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै मुलुकलाई “सुखी नेपाली, समृद्ध नेपाल” को लक्ष्यतर्फ अघि बढाएको दाबी गरेका छन्।
“नेकपा एमाले अनेकौं प्रतिकूलता झेलेर यहाँ आएको हो। एकताबद्ध भएर गौरवशाली र ऐतिहासिक चुनौतीहरू पार गर्नुपर्नेछ,” ओलीको सन्देश उद्धृत गर्दै बादलले कार्यक्रममा बताए।















