अमेरिका र इरानबीच अर्को हप्ता पाकिस्तानको राजधानी इस्लामाबादमा पुनः वार्ता हुने सम्भावना देखिएको छ । पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि दुवै देश दोस्रो चरणको संवादका लागि तयारीमा जुटेका हुन् ।
वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार अमेरिका र इरानले मध्यस्थकर्तामार्फत सम्भावित सम्झौताको मस्यौदामा काम गरिरहेका छन् । उक्त मस्यौदाले एक महिनासम्म चल्न सक्ने औपचारिक वार्ताको आधार तयार पार्न सक्ने बताइएको छ ।
रिपोर्टका अनुसार अमेरिकाले प्रस्ताव गरेको १४ बुँदे मस्यौदामा इरानको आणविक कार्यक्रम, होर्मुज स्ट्रेट क्षेत्रमा तनाव न्यूनीकरण तथा इरानको अत्यधिक समृद्ध युरेनियम भण्डार अर्को देशमा स्थानान्तरण गर्ने विषय समावेश छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट चाँडै सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको बताएका छन् । उनले वार्तामा प्रगति भए युद्धविरामको अवधि थप लम्ब्याउन सकिने संकेत पनि दिएका छन् ।
यसैबीच अल जजिराको रिपोर्टअनुसार इरानले भने आफ्नो आणविक कार्यक्रम वा अत्यधिक समृद्ध युरेनियमसम्बन्धी विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
















