जिल्लाको समग्र शान्ति सुरक्षा, प्रशासनिक समन्वय र सुशासन कायम गर्ने प्रमुख सरकारी निकाय जिल्ला प्रशासन कार्यालय डोटी आफैं कर्मचारी अभावको समस्याबाट गुज्रिरहेको पाइएको छ । दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाह प्रभावित हुँदै गएको छ भने प्रशासनिक कामकाजमा समेत दबाब बढेको छ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीका लागि राजपत्रांकित प्रथम श्रेणी र सहायक प्रमुख जिल्ला अधिकारीका लागि द्वितीय श्रेणीको दरबन्दी रहे पनि लामो समयदेखि डोटीले दरबन्दी अनुसारका अधिकारी पाउन सकेको छैन । गृह मन्त्रालयले सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारी पठाउनुपर्ने भए पनि हाल उपसचिव स्तरका कर्मचारीलाई जिम्मेवारी दिँदै आएको छ ।
यस्तै, सहायक प्रमुख जिल्ला अधिकारीको पद पनि लामो समयदेखि रिक्तजस्तै बनेको छ । गत मङ्सिर १ गते गृह मन्त्रालयले रामबहादुर केसीलाई सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा डोटी सरुवा गरे पनि उनी सोही दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि खटिएका थिए । त्यसयता उनी डोटी आएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार केसीको तलब भत्ता भने डोटीबाटै निकासा भइरहेको छ । प्राधिकरणले हाजिरी प्रमाणित गरेर पठाएपछि तलब उनको खातामा जाने गरेको कार्यालयका लेखापाल सतिश गुरुङले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी कार्यालय नआएको विषयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले आफूले पनि स्पष्ट जानकारी नपाएको बताइन् । उनले यस विषयमा बुझ्नुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिइन् ।
उता, सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने प्रमुख जिल्ला अधिकारी र आफू समान तहका भएकाले डोटीमा बस्न नमिल्ने अवस्था रहेको दाबी गरेका छन् । उनका अनुसार डोटीमा सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था भए पनि हाल उपसचिव स्तरका कर्मचारी कार्यरत रहेकाले आफूलाई प्राधिकरणमा कामकाज गर्न पठाइएको हो ।
‘समान तहको व्यक्ति प्रमुख जिल्ला अधिकारी भएको ठाउँमा सोही तहको व्यक्ति सहायक प्रमुख जिल्ला अधिकारी भएर बस्न मिलेन,’ केसीले भने, ‘सरकारी कर्मचारी भएपछि जहाँ भए पनि काम गर्नु त हो, मैले प्राधिकरणमा बसेर पनि जिम्मेवारी निर्वाह गरिरहेको छु ।’
उनले देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारीको दरबन्दी भए पनि कतिपय जिल्लामा सरकारले उपसचिवलाई जिम्मेवारी दिएको बताए ।
जिल्ला प्रशासन कार्यालय डोटीमा अन्य कर्मचारीको अवस्था पनि कमजोर छ । दुई जना शाखा अधिकृतको दरबन्दी रहे पनि हाल एक जना मात्रै कार्यरत छन् । सात जना नायब सुब्बाको दरबन्दीमध्ये पाँच जना मात्रै छन् भने दुई कम्प्युटर अपरेटरमध्ये एक जना मात्रै कार्यरत रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै, चार जना खरिदारको दरबन्दी रहेकामा तीन जना मात्रै कार्यरत छन् । छ जना कार्यालय सहयोगीमध्ये पाँच जना र दुई जना हल्का सवारी चालकको दरबन्दीमध्ये एक जना मात्रै कार्यरत छन् ।
वैशाख २ गते जिल्लाको दक्षिणी क्षेत्र बीपीनगरमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि कर्मचारी अभाव झन् चर्किएको प्रशासन कार्यालयको भनाइ छ । भएका कर्मचारीसमेत बाँड्नुपर्ने अवस्था आएपछि सेवा प्रवाहमा थप समस्या सिर्जना भएको हो ।
दरबन्दी अनुसार अधिकृत स्तरका कर्मचारी नभए पनि इलाका प्रशासन कार्यालयमा भने राजपत्र अनंकित कर्मचारीलाई खटाइएको छ । लामो समयदेखि कर्मचारी अभाव झेल्दै आएको जिल्ला प्रशासन कार्यालय डोटीमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न नसक्दा प्रशासनिक सेवा प्रभावित बनेको स्थानीयको गुनासो छ ।
















