मुलुकको ऊर्जा क्षमता ४ हजार २९६ मेगावाट पुग्यो, उत्पादन र पूर्वाधार दुवैमा तीव्र विस्तार

Image

नेपालको कुल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युत्का आधारमा उक्त क्षमता निर्धारण गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाका स्रोतबाट प्राप्त उत्पादनलाई समावेश नगरी हालको जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षको अन्त्यसम्म यो क्षमता चार हजार ५०० मेगावाटभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल तीन हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् भने समान क्षमताका आयोजना निर्माणका लागि तयारी चरणमा रहेका छन् । यसले आगामी वर्षहरूमा ऊर्जा उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

ऊर्जा पूर्वाधार विस्तारतर्फ पनि महत्वपूर्ण प्रगति भएको छ । हालसम्म ६६ केभीभन्दा माथिका करिब सात हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, १४ हजार ३२३ एमभिए क्षमताका सबस्टेसन निर्माण भइसकेका छन् ।

त्यसैगरी, ३३ केभी क्षमताका करिब आठ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन र तीन हजार ३०८ एमभिए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

विद्युत् चुहावट नियन्त्रणमा पनि प्रगति देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत् चुहावट १२.५ प्रतिशतमा सीमित भएको छ । प्राविधिक चुहावट क्रमशः घटाउँदै लैजाने लक्ष्य लिइएको प्राधिकरणले जनाएको छ ।

विद्युत् पूर्वाधार विस्तार, सबस्टेसन क्षमता वृद्धि र प्रसारण लाइन स्तरोन्नतिको माध्यमबाट चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाइने मन्त्रालयले स्पष्ट पारेको छ ।

ऊर्जा उपयोगतर्फ प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुगेको छ । हाल राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् पहुँच ९९ प्रतिशत जनसङ्ख्यामा पुगेको मन्त्रालयले जनाएको छ ।

विद्युत् व्यापारमा पनि नेपाल निर्यातमुखी बन्दै गएको देखिएको छ । हालसम्म दुई हजार ९१८ गिगावाट प्रतिघण्टा विद्युत् निर्यात भएको छ भने करिब ५९० गिगावाट घण्टा आयात गरिएको छ ।

वैकल्पिक ऊर्जातर्फ सौर्य विद्युत् उत्पादन क्षमता ६२.७ मेगावाट पुगेको छ भने लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाट उत्पादन भइरहेको छ ।

सिँचाइ पूर्वाधार विस्तारमा पनि प्रगति भएको छ । हालसम्म १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । तीमध्ये पाँच लाख ३२ हजार ९० हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।