दाङको राजपुरमा वनको दाउराको विषयमा उत्पन्न विवादको क्रममा एकजनाको हत्या भएको छ। राजपुर गाउँपालिका–४ मोतीपुरस्थित रामजानकी सामुदायिक वनको दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको हो।
शनिबार दिउँसो स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ दाउरा लिने विषयमा भएको विवादपछि सोही गाउँपालिका–४ सन्तपुरुवाका इच्छाकुमार रैदासको आक्रमणबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विवादको क्रममा रैदासले धारिलो हतियार प्रहार गर्दा स्थानीय ५६ वर्षीय भोला यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए।
घटनापछि फरार रहेका रैदासको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।















