राष्ट्रिय परीक्षा बोर्ड ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा भएको करिब एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित बोर्डले इन्ट्री प्रक्रिया सकेर हाल त्रुटि नहोस् भन्ने उद्देश्यले रुजु (भेरिफिकेसन) को काम गरिरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ, पर्सिसम्म आउँछ । आईटीले काम गरिरहेको छ,’ उनले भने, ‘त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं ।’
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सहज भएको बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार शिक्षकहरूको सक्रिय सहभागितामा केन्द्रमै परीक्षण गरिएको रणनीतिले प्रक्रिया छिटो अघि बढेको हो ।
आईटी प्रणालीको काम सकिएपछि बोर्ड बैठक बसेर औपचारिक रूपमा नतिजा सार्वजनिक गरिनेछ ।
एसईई परीक्षा गत चैत १९ देखि २९ सम्म सञ्चालन भएको थियो । यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फारम भरेका थिए ।
















