गोदावरीका मेयर भट्ट मापसे गरेर चलाएको सरकारी गाडी दुर्घटना, १ हजार जरिवाना

Image

कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा दुर्घटनामा परेको खुलेको छ। प्रहरीले मापसे गरी सवारी चलाएको तथा लापरबाही गरेको भन्दै उनलाई एक हजार रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मेयर भट्टलाई मापसे गरेको अभियोगमा ५ सय रुपैयाँ र लापरबाहीपूर्वक सवारी चलाएकोमा थप ५ सय रुपैयाँ जरिवाना गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रेशम आचार्यका अनुसार आफन्तमार्फत जरिवाना बुझाएपछि नियन्त्रणमा रहेको गाडी कागजी प्रक्रिया पूरा गरेर छाडिएको छ।

शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत गेटा क्षेत्रमा मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटनामा परेको थियो। अनियन्त्रित गाडी सडक किनारको रेलिङमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। तर गाडीको अगाडिको भागमा क्षति पुगेको छ। स्थानीयले मेयरको गाडी दुर्घटनामा परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले राति तत्काल मापसे परीक्षण गर्न नसके पनि मेयर भट्ट स्वयंले मदिरा सेवन गरेर गाडी चलाएको स्वीकार गरेपछि कारबाही गरिएको जनाएको छ।