झापामा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन् ।
बाह्रदशी गाउँपालिका–२ बुट्टाबारी निवासी तेजबहादुर खवासको परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर आज बिहान खानामा सेवन गरेपछि सबै सदस्यको स्वास्थ्यमा समस्या देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बिरामी पर्नेमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका रहेका छन् ।
बिरामी परेकाहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । प्रारम्भिक उपचारपछि नौ जनालाई थप उपचारका लागि दमकस्थित बाल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।
प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने तथा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ ।















