४ अंक घटेको सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार

Image

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा नेप्से ४.१५ अंकले घटेर २७४० अंकमा अडिएको हो। लगातार उतारचढाव देखिँदै आएको बजारमा आज कारोबार रकमसमेत उल्लेख्य रूपमा घटेको छ।

आज कुल कारोबार रकम करिब ४० प्रतिशतले घट्दै २ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यो कारोबार रकम गत फागुन २५ यताकै न्यून हो, जस दिन सर्किट ब्रेक लागेका कारण पूरा कारोबार हुन सकेको थिएन।

आजको बजारमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको घटेको छ। १२ कम्पनीको मूल्य स्थिर रह्यो। समग्रमा व्यापार र उत्पादन समूहबाहेक सबै समूहगत सूचकमा गिरावट देखिएको छ।

समूहगत सूचकतर्फ व्यापार समूह १.५० प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.४७ प्रतिशतले बढे पनि अन्य सबै सूचक राताम्मे बने। बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१ र अन्य समूह ०.३० प्रतिशतले घटेका छन्।

आजको कारोबारमा एसियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशतले बढेको छ। त्यस्तै एसवाई प्यानलको सेयर मूल्य ४.६२ प्रतिशतले वृद्धि भएको छ। तर धौलागिरि लघुवित्तको सेयर मूल्य ११.१७ प्रतिशतले घट्दा सबैभन्दा धेरै गिरावट देखियो। झापा इनर्जी ९.४३ प्रतिशत र रिजलाइन इनर्जी ४.८७ प्रतिशतले घटे।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल, रिडी पावर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहे। बजारमा समग्रमा लगानीकर्ताको मनोबल कमजोर देखिँदा कारोबार समेत सुस्त बनेको विश्लेषण गरिएको छ।