कामीरिता शेर्पाद्वारा ३२औँ पटक सगरमाथा आरोहण, तोडे आफ्नै रेकर्ड

Image

कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा ले ३२औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन् ।

आइतबार बिहान १०:१२ बजे उनले ३२औँ पटक सगरमाथाको शिखरमा पुगेर नयाँ रेकर्ड कायम गरेको पर्यटन विभागको सगरमाथा आधार शिविरस्थित अस्थायी कार्यालयले जनाएको छ । यसअघि उनले गत वर्ष जेठमा ३१औँ पटक सगरमाथा आरोहण गरेका थिए ।

शेर्पाले पहिलो पटक सगरमाथा सन् १९९४ मा आरोहण गरेका थिए । लामो आरोहण यात्रामार्फत उनले विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाउँदै आएका छन् ।

पर्यटन विभागले उनको उपलब्धिप्रति बधाई व्यक्त गरेको छ ।

यसैबीच, ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पा ले पनि आइतबार बिहान साढे ९ बजे ११औँ पटक सगरमाथा आरोहण गरेकी छन् । उनले महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेकी छन् ।

सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्त्वपूर्ण उपलब्धि थपेकी छन् ।