प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएका छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरी का अनुसार शनिबार साँझसम्म ७ उजुरी प्राप्त भएका हुन् । समितिले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिन वैशाख २६ गते सार्वजनिक आह्वान गरेको थियो ।
समितिले योग्य नभएको ठानेमा प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरी दिनेले आफ्नो नाम, ठेगाना र सम्पर्क विवरण स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ । उजुरी दिने समय सोमबार कार्यालय समयसम्म खुला रहनेछ ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमता मूल्यांकन गर्ने संवैधानिक व्यवस्था अनुसार प्रक्रिया अघि बढाइएको हो ।
उजुरी प्राप्त भएपछि समितिले तीमाथि छलफल र छानबिन गर्नेछ र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ गर्नेछ ।
















