सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका सुलभ अग्रवालसँग हिरासतभित्र आइप्याड भेटिएको विषयमा छानबिन सुरू भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको अवस्थामा हिरासतभित्रै उनले आइप्याड प्रयोग गरिरहेको भन्ने उजुरी परेपछि प्रहरी प्रशासनले छानबिन समिति गठन गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन प्रक्रिया अघि बढाइएको छ ।
प्रहरी स्रोतका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको भए पनि विभागको आफ्नै हिरासत नभएकाले उनलाई प्रहरीको नियन्त्रणमा राखिएको थियो ।
स्रोतका अनुसार आइप्याड भेटिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको भूमिका, सुरक्षा व्यवस्था र नियन्त्रण प्रक्रियाबारे विस्तृत रूपमा छानबिन गर्न समिति गठन गरिएको हो ।
छानबिन प्रक्रिया केही समयदेखि जारी रहेको प्रहरीले जनाएको छ ।














