पूर्वी कंगोमा इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ भाइरस प्रकोपका कारण १३१ जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल घोषणा गर्दै महामारीको तीव्र फैलावटप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
कंगोका जनस्वास्थ्यमन्त्री सामुएल रोजर काम्बाले सोमबार यो जानकारी दिएका हुन् । उनले मृत्यु भएका सबै व्यक्तिको इबोलाकै कारण ज्यान गएको हो वा होइन भन्ने पुष्टि गर्न प्रयोगशाला परीक्षण जारी रहेको स्पष्ट पारे ।
स्वास्थ्य अधिकारीहरूका अनुसार, शुक्रबार पहिलोपटक पुष्टि भएको यो प्रकोप ‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको हो । यो इबोला रोगको दुर्लभ प्रकार हो, जसका लागि हालसम्म कुनै पनि स्वीकृत उपचार वा खोप उपलब्ध छैन ।
कंगो र युगान्डामा हालसम्म २० पटकभन्दा बढी इबोलाको प्रकोप फैलिसकेको भए पनि ‘बुन्डिबुग्यो’ भाइरस फेला परेको यो केवल तेस्रो घटना हो । यस भाइरसबाट संक्रमित बिरामीहरू बुनिया, गोमा, मोंगबवालु, बुटेम्बो र न्याकुन्डे क्षेत्रमा फेला परेका छन् ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले जेनेभाबाट प्रतिक्रिया दिँदै महामारीको दायरा र यसको तीव्र गतिबारे आफू अत्यन्त चिन्तित रहेको बताएका छन् ।
संयुक्त राष्ट्र संघअन्तर्गतको स्वास्थ्य एजेन्सी डब्लूएचओले आवश्यक सिफारिस र रणनीतिबारे छलफल गर्न आफ्नो आपतकालीन समितिको बैठक बोलाएको जनाएको छ ।
‘बुन्डिबुग्यो’ भाइरस इबोलाको यस्तो दुर्लभ प्रकार हो, जसका लागि हालसम्म कुनै पनि स्वीकृत औषधि वा खोप विकसित हुन सकेको छैन ।















