हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले विद्यालय भवन, गोठ तथा खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ।
एक्कासी परेको असिनापानीपछि आएको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको स्थानीय छक्कबहादुर तामाङले जानकारी दिए। उनका अनुसार पहिरोका कारण गाउँको खेतीयोग्य जमिनसमेत बगाएको छ।
पहिरोले वडा नम्बर ५ का वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठ पनि पुरिएको जनाइएको छ। गोठमा रहेका भेडाबाख्रामा समेत क्षति पुगेको बताइएको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार पहिरो प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ। उनले क्षतिको यथार्थ विवरण संकलन भइरहेको जानकारी दिए।
हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्ने चङ्खेली गाउँपालिकामा तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन्। गाउँपालिकाको केन्द्र पिप्लाङबाट निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धार तथा अनुगमनमा कठिनाइ हुने स्थानीयले बताएका छन्।















