मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

Image

कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारलाई नेकपा एमाले ले पनि विश्वासको मत दिने भएको छ। यससँगै मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना बलियो बनेको छ।

मुख्यमन्त्री यादवले गत शुक्रबार विश्वासको मत लिने कार्यसूची तय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो। जनता समाजवादी पार्टी नेपाल का केही सांसदले फ्लोर क्रस गर्न सक्ने आशंकापछि विश्वासको मत लिने प्रक्रिया रोकिएको बताइएको छ। अब विश्वासको मत लिने नयाँ मिति जेठ ८ गतेका लागि तय गरिएको छ।

यसअघि कांग्रेस, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपाबीच मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो। तर जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएपछि एकीकृत दलले विश्वासको मत दिने विषयमा आनाकानी गरेको थियो।

नेपाली कांग्रेस बाट मुख्यमन्त्री बनेका यादवले विश्वासको मत पाउने वा नपाउने विषय अनिश्चित बनेपछि केन्द्रमा कांग्रेस र एमालेबीच संवाद भएको थियो। कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा ले फरक–फरक समयमा एमाले अध्यक्ष केपी शर्मा ओली सँग भेटेर सातै प्रदेश सरकारको अवस्थाबारे छलफल गरेका थिए।

दुई दलबीच भएको प्रारम्भिक सहमतिअनुसार मधेस प्रदेशमा एमाले सांसदहरूले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएका छन्। केन्द्रीय तहमा भएको सहमतिबारे मधेसका एक कांग्रेस नेताले भने, “मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहन्छ, कृष्ण यादवले विश्वासको मत पाउनुहुन्छ।”

कांग्रेस र एमालेबीच भएको सहमतिबारे बुधबार साँझ सभापति थापा र उपसभापति शर्माले मधेस प्रदेशका नेता तथा सांसदहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। कांग्रेसले महोत्तरीको बर्दिवासमा आजदेखि सुरु गरेको दुईदिने कार्यक्रममा सहभागी हुन शीर्ष नेताहरू मधेस पुगेका छन्।