संघीय निजामती विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा

Image

संघीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा अगाडि बढेको छ ।

भूमि व्यवस्था, सहकारी, सं‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मस्यौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएसँगै अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेर संघीय मामिला मन्त्रालयमै फिर्ता पठाएको हो ।

सं‍घीय मामिला मन्त्रालयका सहसचिव एकदेव अधिकारीले अर्थ मन्त्रालयले गत बुधबार विधेयक फिर्ता गरेको जानकारी दिए । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट पनि फर्किएपछि मन्त्रिपरिषद्मा लगिने सहसचिव अधिकारीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले संसद्मा पेस गर्न स्वीकृति दिएपछि विधेयक संसद्मा पेस हुनेछ । प्रस्तावित विधेयकमा निजामती सेवामा प्रवेशको अधिकतम उमेर महिलाको हकमा ३५ वर्ष र पुरुषको हकमा ३२ वर्ष राखिएको छ । अवकाशको उमेर ६० वर्ष प्रस्तावित छ ।

निजामती सेवाबाट राजीनामा दिएको वा अवकाश भएको निश्चित अवधिसम्म संवैधानिक, राजनीतिक नियुक्तिमा जान नपाउने गरी कुलिङ अफ पिरियडको प्रावधान पनि छ ।

कर्मचारीमा ट्रेड युनियनको प्रावधान सरकारले यसअघि नै अध्यादेश ल्याएर हटाइसकेको छ । प्रस्तावित विधेयकको मस्यौदामा पनि सोही अनुसार कर्मचारी ट्रेड युनियनको व्यवस्था राखिएको छैन ।