क्वालिटी रिन्युएवल इनर्जी प्रा.लि. लाई ‘क्लिन इनर्जी कम्पनी अफ द इयर २०२६’ अवार्ड प्रदान गरिएको छ । काठमाडौंमा आयोजित नेपाल क्लिन इनर्जी सप्ताह–२०२६ का अवसरमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
दुर्गम तथा सुगम दुवै क्षेत्रमा सौर्य ऊर्जामार्फत सेवा विस्तार गर्दै निरन्तर स्वच्छ ऊर्जा उत्पादनमा योगदान पुर्याएको भन्दै कम्पनीलाई यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । सोही कार्यक्रममा कम्पनीका सिओओ तुफान गौतम लाई ‘फ्यूचर इनर्जी लिडर्स अन्डर फोरटी’ अवार्ड प्रदान गरिएको छ । नवीकरणीय ऊर्जाको क्षेत्रमा युवा नेतृत्व गर्दै स्वच्छ ऊर्जा उत्पादनमा निरन्तर योगदान गरेको भन्दै गौतमलाई उक्त सम्मान दिइएको हो ।
आयोजकका अनुसार विदेशमा अध्ययन पूरा गरी नेपाल फर्किएका गौतमले स्वदेशमै नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।अवार्ड मनदेवी श्रेष्ठ र दिर्घायु कुमार श्रेष्ठले संयुक्त रूपमा प्रदान गरेका थिए । कार्यक्रममा महानिर्देशक श्रेष्ठले दुर्गम तथा ग्रामीण क्षेत्रमा सौर्य ऊर्जामार्फत उज्यालो पुर्याउँदै निजी क्षेत्रले स्वच्छ ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिएको बताइन् । उनले नेपाल क्लिन इनर्जी उत्पादनतर्फ अघि बढिरहेको उल्लेख गर्दै निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण हुने धारणा राखिन् ।
सिओओ गौतमले कम्पनीले हिमाली तथा दुर्गम बस्तीका साथै विद्यालय, अस्पताल, सिँचाइ तथा खानेपानी क्षेत्रमा सौर्य ऊर्जामार्फत सेवा विस्तार गर्दै आएको बताए । उनले नेपालमा नवीकरणीय ऊर्जाको प्रमुख आधार सौर्य ऊर्जा भएको उल्लेख गर्दै यसको विकासका लागि राज्यको स्पष्ट नीति र दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखे ।
कम्पनीले सोलार होम सिस्टम, सोलार सिँचाइ, सोलार लिफ्टिङ खानेपानी आयोजना, संस्थागत सोलार प्रणाली, रुफटप सिस्टम, सोलार मिनीग्रिड, सडक सोलार बत्ती, सुधारिएको चुल्हो, विद्युतीय चुल्हो, वाटर हिटर, बायोग्यास तथा बायोमासलगायतका परियोजनामा काम गर्दै आएको जनाएको छ ।
















