युद्धविरामकै बीच इरानमा अमेरिकी हमला, शान्ति वार्तामा अन्योल

Image

अमेरिकाले युद्धविरामकै बीच दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । अमेरिकी सेनाले इरानी मिसाइल भण्डारण स्थल र समुद्री सुरुङ (माइन) राख्ने तयारीमा रहेका डुंगालाई लक्षित गर्दै हमला गरेको जनाएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले जारी गरेको विज्ञप्तिअनुसार उक्त आक्रमण ‘आत्मरक्षा’का लागि गरिएको दाबी गरिएको छ । सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकी सेना संयमित ढंगले आफ्ना फौजको सुरक्षा गरिरहेको बताएका छन् ।

अमेरिकी आक्रमण इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै गरिएको जनाइएको छ । उक्त क्षेत्र इरानी नौसैनिक अड्डाको प्रमुख केन्द्र मानिन्छ । साथै, यो रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्य क्षेत्रमा पर्छ ।

यसअघि इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास क्षेत्रमा विस्फोटको आवाज सुनिएको र स्थानीय अधिकारीहरूले त्यसबारे अनुसन्धान गरिरहेको बताएका थिए । तर समाचार तयार पार्दासम्म इरानले अमेरिकी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

यो आक्रमण अमेरिका–इरानबीच सम्भावित शान्ति सम्झौताबारे वार्ता चलिरहेका बेला भएको हो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्तामा केही प्रगति भएको स्वीकार गर्दै तत्काल सम्झौता हुने अवस्था नरहेको बताएका थिए ।

आक्रमणपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने शान्ति सम्झौता अझै सम्भव रहेको प्रतिक्रिया दिएका छन् । भारत भ्रमणमा रहेका रुबियोले पत्रकारहरूसँग कुरा गर्दै प्रारम्भिक समझदारीपत्रको भाषाबारे गम्भीर छलफल भइरहेको र सहमतिमा पुग्न केही दिन लाग्न सक्ने बताएका छन् ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौता सम्पन्न गर्न इच्छुक रहेको उल्लेख गर्दै ‘राम्रो सम्झौता हुने या सम्झौता नै नहुने’ धारणा ट्रम्पको रहेको बताए ।

यसअघि सप्ताहन्तमा ट्रम्पले अमेरिका र इरान शान्ति सम्झौताको नजिक पुगेको संकेत दिएका थिए । तर पछि उनले वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको बताएका थिए । रुबियोले पनि सोमबारसम्म सहमति हुन सक्ने सम्भावना औंल्याएका थिए ।

वार्तामा छलफल भइरहेको प्रारम्भिक समझदारीपत्रमा ६० दिनसम्म युद्धविराम थप गर्ने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने प्रस्ताव समावेश रहेको बताइएको छ ।